सरकारको केन्द्रीय सर्भर ह्याक भएको आशंका गरिएको छ। शनिबार साढे १२ बजेदेखि सिंहदरवारमा रहेको केन्द्रीय सर्भर डाउन भएपछि देशभरिका सरकारी वेवसाइटहरू ठप्प भएको छ। अध्यागमन विभागजस्तो संवेदनशील क्षेत्रको वेवसाइटहरूसमेत ठप्प हुँदा अतिआवश्यक विवरण संकलनमा कठिनाइ भएको छ।
सूचना प्रविधिका विज्ञहरूले भने सर्भर ह्याक भएको आशंका गरेका छन्। आन्तरिक समस्या आउँदा सबै वेवसाइटहरू एकैपटक डाउन नहुने तर्क गर्दै उनीहरूले ह्याकरहरूले सर्भरमा आक्रमण गरेको हुनसक्ने बताए। सरकारी एक अधिकारीले पनि सर्भरमा ह्याकरको अट्याक भएको स्वीकारे।
‘ह्याकरले अट्याक गरेकै हो। तर हाम्रो सर्भरमा पहुँच बनाउन भने सकेन,’ ती अधिकारीले भने। ती अधिकारीका अनुसार कर्मचारीकै बदमासीका कारण पनि यस्तो भएको हुनसक्ने बताए। ‘भित्रकै कर्मचारीले पनि यस्तो गरेको हुनसक्छ। यस विषयमा छानबिन हुन्छ,’ उनले भने। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने प्राविधिक समस्याका कारण वेवसाइटहरू नचलेको बताए। उनले प्राविधिकहरूले समस्या समाधान गरिरहेको भए पनि के कारणले त्यसो भएको एकीन हुन नसकेको बताए।
