म दलित हुँ
भाेट हाल्न त मन थियो
मतपत्र छुन मिल्छकि मिल्दैन
मैले छाेएकाे मत पत्र
तिम्रो नाममा
गणना गर्दै गर्दा
छुइ लाग्यो भनेर
तिम्रो बुबा रिसाउलान
मुमा रिसाउलान
कुल देवता पनि रिसाउला
मैले छाेएकै कारण
तिम्रो हार भयो भने
सुनपानी छर्किनु पर्ला
म दलित हुँ
भाेट हाल्न त मन थियाे
मतपत्र छुन मिल्छकि मिल्दैन
छुन मिल्छ भने भन
एक मत त पाउला
तिम्रो भ्रष्टाचारको बाटो त खुल्ला
चुनावमा बाँडेको रकम असुल गर्न
मेरो मत निर्णायक बन्न सक्छ
पानी चल्दैन तिमिलाइ
कसरी चल्ला मेरो मत
चल्छ भने भन
म दलित हुँ
भाेट हाल्न त मन थियो
मतपत्र छुन मिल्छकि मिल्दैन
मेराे मतदान चल्छ
रक्तदान चल्छ
श्रमदान चल्छ
देश विकास समाज निर्माणमा गरेको
बलिदान चल्छ
जात चल्दैन
भात चल्दैन
छाेरि चल्दैन
म दलित हूँ
भाेट हाल्न त मन थियो
मतपत्र छुन मिल्छकि मिल्दैन
सक्छौ त विभेद अन्त्य गर्न
समाजको विकृति हटाउन
सामाजिक दुरि घटाउन
समानता कायम गर्न
सक्छौ भने भन
म दलित हुँ
भाेट हाल्न त मन थियो
मतपत्र छुन मिल्छकि मिल्दैन
