• यो साता चर्चामा :
साउन १४ गते २०८३ || July 30, 2026

भुकम्पकाे भावविह्वलमा भक्कानियका हिमशिखर

शनिबार, कात्तिक २५ २०८००७:५३

भुकम्पकाे भावविह्वलमा भक्कानियका हिमशिखर

हिमशिखर सी

नेकपा बर्दिया इन्चार्ज

 

FB_IMG_1699666412403.jpg
undefined

कार्तिक १७ गते ११:४७ बजे ६.४ रेक्टर स्केलको भुकम्प गएको राति म कोहलपुरस्थित पुरानो बसपार्कको एउटा साधारण होटेलमा नेकपा स्थायी समिति सदस्य क.सन्तोष सी, दक्षिण कर्णाली ब्यूरो इन्चार्ज क.संगम सी, डोल्पा पार्टी जिल्ला सेक्रेटरी क.गौचनसँग थिएँ । भुकम्पको झट्का निकै जोडले आएको थियो । सबैभन्दा पहिला मैले नै थाहा पाएँ र सबैलाई ब्युझाँए अनि सबै जागाराम भयौं र विश्लेषण गर्यौं कि यसले जहाँ केन्द्र बनाएको छ ; त्यता ठूलो क्षती पुर्यायो । नभन्दै जाजरकोटको रामिडाँडा केन्द्र बनाएको र ठूलो मात्रामा धनजनको क्षती भएका विवरणहरु सामाजिक संजालमा आउन थाले । १८ गते बिहान उपलब्ध कमरेडहरुको आकस्मिक बैठक बसि राहत/उद्दार कार्यमा ब्यूरोको सम्पूर्ण शक्ति लाग्ने निर्णय गर्यौं । जाजरकोट जिल्ला इन्चार्ज क. विराजन सीले हतासिदै” जिल्लामा ठुलो तहसनहस भैसक्यो । ५५ बढी मान्छेको ज्यान गैसक्यो (हाल १०५ जनाको मृत्यु भएको छ) प्रेम दाईको त दुईटा छोराको मृत्यु भएछ । भर्खर खबर पाएँ ।”भन्नुभो । यो खबरले मन चिसो भयो । मित्र प्रेम जी विद्यार्थीको ब्युरो संयोजक हुँदा प्रतिबन्धकालमा बाँके बर्दियामा राम्रो सहकार्य भएको थियो । नचिनेको नदेखेको हुँदा उत्पन्न हुने मानवीय समवेदना र चिनेजानेकोलाई पर्ने दु:खको समवेदना अलि फरक हुँदो रैछ । प्रेम जि झलझल्ती यादमा आइरहनुभयो ।

FB_IMG_1699665931875.jpg
undefined

ब्यूरो इन्चार्ज संगम सी नेतृत्वको उद्दार टोलिमा म पनि जाजरकोट जाने भएपछि पक्कै प्रेम जीको घरमा पुग्नुपर्छ र उहाँलाई भेटेरै समवेदना प्रकट गर्नुपर्छ भन्ने अठोट लिएँ । १८ गते बिहान ७ बजे कोहलपुरबाट हिडेको गाडीले दिउँसो ४ बजे जाजरकोट सदरमुकाम खलंगा पुर्यायो । हामीलाई स्थानीय कमरेडहरुले सरासर जिल्ला अस्पताल लिनुभयो । अस्पतालको स्थिति निकै भावविह्वल थियो र एकप्रकारले सन्नाटा छाइरहेको थियो । कतिबेला के हुने हो भनेर मान्छेहरु त्रसित मानसिकतामा थिए । डक्टर, पुलिस, सेना, स्वमसेवकहरु मौरीको चालमा काम गरिरहेका थिए । यस्तो दर्दनाक अवस्थामा पनि पार्टीहरुका नेता भने सेलिब्रेट शैलीमा जग हँसाउदै चम्चेहरुका साथ यताउता हिडिरहेका थिए । नागरिक भने आशाको त्यान्द्रो मनमा लिएर मलिन अनुहारले दृश्य नियालिरहेका थिए । मृत लासहरु घाटसम्म लिने क्रम जारी थियो । हामी भने सरासर शवगृहतर्फ गयौं ।त्यहाँको दृश्य निकै भावविह्वल र कारुणिक थियो ।

शवगृहको दुईवटा कोठाको भुइँमा ११ वटा शवहरु लस्करै सुताइएका थिए । कसैलाई कात्रो बेरेका थिए भने कसैलाई खाली राखिएको थियो । यस्तो लाग्थ्यो उनीहरु सुतिरहेका छन् र ब्युझाइयो भने उठ्नेछन् । शवगृहको मुर्दा शान्तिको वातावरणमा मैले झ्वाट्ट मित्र प्रेम जीलाई सम्झें अनि उहाँका दुईटा कलिला मुनाहरुलाई खोजेँ, मेरा आँखा बच्चाहरुको लासतिर गए कतै देखिन्छन् कि भनेर । त्यो बेला सोधिखोजी गर्ने अवस्था थिएन । हतार- हतार हामीले ९ वटा लास शवबाहनमा चढायौं । जस मध्ये चार वर्षिया बालिका सञ्जिता विकको हजुरआमा छेउमा उभिरहनु भएको थियोे । उनका बुवा आमा सन्तान वियोगमा भावविह्वल भएर बेहोस अवस्थामा हुनुहुँदो रहेछ । हराभरा भै फुलेको फूललाई भर्खर कसैले चटक्कै चुँडेको जस्तो भान भयो । मुटु निकै निचोरिएर आयो । उक्त बालिकालाई मैले काखमा राखेर शवबाहनमा राखिदिएँ । यसपछि दैनिक भत्केका घरहरुमा पशुचौपाया, अन्नपात, लुगालत्ता, भाँडाकुँडा, गरगहना, मोबाइलहरु पुरिएका उद्दार कार्यहरु र कहालिलाग्दा दिनचर्याहरु निरन्तर चलिरहे । आज उद्दार कार्यको चौथो दिन जिल्लाको अति दुर्गम ठाउँ नलगाड नपा -५ को रानीगाउँ आएको दोस्रो दिन कार्यविभाजनको क्रममा सेल्टरबाट पैदल करिब ४५ मिनेटको दूरीमा रहेको प्रेम जिको गाउँ ऐरारीमा डा. प्रकाश सी र भिम सी अनि उद्दार टोलीको तर्फबाट योद्धा सी, बिराजन सी र दिपक सीसहित म जाने कुरा भयो ।

Screenshot_2023-11-11-07-07-07-527_com.facebook.orca.jpg
undefined

डा.प्रकाशलाई भेटेसम्म बाइकमा लैजाने सल्लाह अनुसार क. बिराजन साधनको जोहो गर्न तिर लाग्नुभयो । क.योद्धा र म पैदल हिडिरहेका थियौं । बाटोमा पाँचतारा युवा क्लवको तर्फबाट मृतकको घरमा राहत बाढ्दै हिडेको स्कारपियो भेटियो । गाडीभित्र क्लबका अध्यक्षको साथमा नेपाली काँग्रेसकी समानुपातिक संघीय सांसद मैना खत्री (रावल) हुनुहुँदोरहेछ । क्लब अध्यक्षले “ल आउनुस् तपाईंहरु’सी’ब्राण्डको हुनुहुँदोरहेछ । अरुहरु जस्तो दु:खमा राजनीति गर्ने र फोटो खिचाउनेवाला भए त लात्ताले खोला फाल्ने थिंए । तपाईंहरु साँच्चिकै जनताको घाउमा मल्हम लाउदै हिड्नुभएको छ बस्नुस् ।”भनेर हाम्रो कामको उच्च मुल्यांकन गर्दै सम्मानभाव व्यक्त गरेकोले खुशीले गर्वानुभूति भयो । छोटो यात्रा आरम्भ गर्यौं । सम्बन्धित ठाउँमा हामी अगाडि पुग्यौं डा.प्रकाश सहकर्मीका साथ हातमा मेडिसिनको झोला बोकेर आइपुग्नु भयो दस मिनेटको पैदल उकालो चढेपछि प्रेमको घरमा पुग्यौं । मित्र प्रेम उहाँकी जिवनसंगिनी दिलमाया सिंहसहित सम्पूर्ण परिवार शोकमग्न अवस्थामा हुनुहुन्थ्यो ।हामीलाई देख्नेबित्तिकै प्रेमले न्यानो हातमिलाउनु भो आफ्नो भग्नावशेष घरको छेउमा बस्न आग्रह गर्नु भो ।गाउँलेहरु अर्ध भत्केको घरबाट थप क्षती नहोस् भनेर पूर्ण भत्काउने तर्खरमा लागिरहेका थिए । डा.प्रकाशले शान्त स्वरमा बिरामी कहाँ हुनुहुन्छ? भनेर प्रेमलाई सोध्नुभो । उहाँले यता हुनुहुन्छ भन्दै प्लास्टिकको घरतिर इशारा गर्नुभो । दुईटा छोराको वियोगले विक्षिप्त बनेकी दिलमाया सिहं बाहिरी शरीरको भन्दा हृदय चहराईरहेको घाउको कारण थला परिरहनु भएको थियो । जब डा. प्रकाश उपचारको लागि पालमुनी छिर्नुभयो उहाँ डाको छोडेर रुदै भन्न थाल्नु भो” भो मलाई उपचार नगर्नुस्, मलाई बाँच्न मन छैन, सक्नुहुन्छ भने मलाई मेरो बाबुहरुको घर जाने औषधी दिनुस् म मर्न चाहन्छु । अब म बाँच्नुको कुनै सार छैन ।”

यसअघि पनि पुत्रवियोगको कारण प्राथमिक उपचार समेत गर्न मान्नु भएको रहेनछ । डाक्टरको लामो सम्झाई बुझाईपछि उपचार गर्न तयार हुनुभयो । जब डाक्टरले आलासेट हातमा राखेर प्रेसर नाप्न थाल्नुभो पुनः ” मैले मेरो बाबुहरुलाई हजुर जस्तै डाक्टर बनाउने सपना देखेकी थिएँ ।……. अधुरै रह्यो ।” भन्दै आँखाबाट मोतिका दाना पोखिएझैं आँशुका ढिक्का खसाल्न थाल्नुभो । डा. प्रकाश पनि भावुक हुनुभयो । उहाँका आँखाबाट आँशुका ढिक्काहरु अनुहारको बाटो हुँदै छातिमा खसिरहेका थिए । त्यो सबै कारुणिक दृश्य हेरिसक्नुको थिएन । मेरो पनि गला अवरुद्द भएर आयो, आँखामा नुनिलो पानीको पोखरी बन्यो । वातावरण पुनः भावविह्वल बन्यो । बल्लतल्ल डाक्टरले उपचार प्रक्रिया अगाडि बढाएर सिटामोल खान दिएर आराम भएपछि घाइते दिलमाया सिहं (शाही)ले घटनाको सविस्तार वर्णन गर्न थाल्दै भन्नुभयो ।”…. हामी चार आमा छोरा खाना खाएर १०:३० बजेसम्म काठमाडौँमा रहेका फुच्चेको बाबालाई फोन गरेकी थिएँ । लामै कुराकानी भयो त्यसक्रममा ” तिमीलाई धेरै दु:ख भयो अब यतैतिर व्यवस्था गर्नुपर्छ ।”भन्नुभयो । त्यसपछि भर्खर निदाएकी थिएँ । एक्कासी रातिको समय महाविनाशकारी भुकम्पले सुतेको घर भत्किएपछि माइलो छोरा सौरभले थाहा पाएर “दादा हाम्रो घर भत्कियो उठ हामीलाई माटोले पुर्यो ” भन्दै कराउदै थियो । तर त्यतिन्जेल कान्छो छोरा मेरो दुध खाइरहेको थियो दुधको नेप्पल मुखमै च्यापिरहेको अवस्थामा उसले प्राण पखेरु छोडिसकेको थियो । म उठौं भन्दापनि उठ्न सक्ने अवस्थामा थिइनँ । मेरो ज्युपनि पुरिएको अवस्थामा थियो । सास बुझिदै आइरहेको थियो । पुरै घर भत्किसकेको थियो गाँउलेहरु आए र हामी आमा छोरालाई बचाए । काखमा रहेका तीन वटा छोरा मध्ये दुई वटा सौगात र सुजन शाहीले ऐय्या पनि भन्न नपाइ सधैँको लागि निदाए ।

यस्तो बज्रपात कसैलाई पनि नपरोस् । छोराहरुसँगै मपनि गएको भए यो पीडा भोग्नुपर्ने थिएन होला ।” त्यसपछि डा.प्रकाशले सान्त्वना दिदै जे नहुनु थियो भैसक्यो आफुलाई सम्हाल्नुस् । औषधी नछुटाई खानुहोला । भनी सम्झाउनुभयो । सँगै गएको उद्दार टोलिले अतिजोखिमपूर्ण अवस्थामा रहेको प्रेम शाहीको घरलाई थप क्षती नहोस् भनेर पूर्ण रुपमा भत्काउने कार्य गर्यो भने अर्का जेलमा रहेका नवीन शाहीको जोखिमपूर्ण घरको छतमा रहेको पाँच क्वीन्टल बराबरको मकै उद्दार गरेर रानीगाउँमा रहेको पालमुनिको सेल्टरमा डाक्टर प्रकाशसँग हृदयविदारक घटनाको विवेचना गर्दै फर्कियौं । २०८० कार्तिक २१ गते रानीगाउँ


प्रतिक्रिया दिनुहोस