२६ वैशाख काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव चुलिँदै जाँदा, नियन्त्रण रेखाको दुवै पक्षमा गलत सूचना र पुष्टि नभएका हल्लाहरू फैलिरहेका छन्। अलजजिरा लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा यहाँ पछिल्ला मुख्य
घटनाहरूको सारांश प्रस्तुत गरिएको छ: पाकिस्तानी सेनाको दाबी: पाकिस्तानले बिहीबार भारतले आक्रमणकारी ड्रोनहरू पठाएको र तिनले कम्तीमा दुई पाकिस्तानी सर्वसाधारणको ज्यान लिएको दाबी गरेको छ। पाकिस्तानी सेनाले आफ्नो आकाशमा भारतका २५ ड्रोन खसालेको पनि दाबी गरेको छ।
भारतको आरोप: भारतले पाकिस्तानले जम्मुस्थित अखनूर, साम्बा, कठुआ लगायत थुप्रै स्थानमा आक्रमण गरेको आरोप लगाएको छ। भारतको थप दाबी: पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरका सैन्य केन्द्रहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको भारतको भनाइ छ। यी स्थानहरू दुवै देशको सिमानासँग निकट छन्।
पाकिस्तानी पाइलट पक्राउ ? : भारतीय मिडियाले एक पाकिस्तानी लडाकु विमानका पाइलट जैसलमेर नजिक विमानबाट इजेक्ट भएपछि भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको रिपोर्ट गरेको छ। पाकिस्तानको खण्डन: पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तारडले बिहीबार जम्मु–काश्मीरमा पाकिस्तानले कुनै आक्रमण नगरेको दाबी गरेका छन्।
उनले पाकिस्तानी सेनाले ‘अन्तर्राष्ट्रिय सीमा पार गरेर गोली नचलाएको’ र पाकिस्तानी पाइलट पक्राउ परेको दाबी पनि अस्वीकार गरेका छन्। अमेरिकाको चिन्ता: अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भारत र पाकिस्तान दुबैका नेताहरूसँग फोन वार्ता गर्दै ‘तात्कालिक तनाव कम गर्ने आवश्यकतामा जोड’ दिएका अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टैमी ब्रूसले बताएकी छन्।
