रुसको निजी सैन्य कम्पनी वागनर समूहले दक्षिणी शहर रोस्तोव–अन–डनलाई नियन्त्रणमा लिएको छ । वागनरका प्रमुख येवगेनी प्रिगोजिनले आफ्ना सैनिकहरुले रुसी शहरको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेका थिए । बीसीसीका अनुसार वागनरले रोस्तोव–अन–डन शहरमा रहेको रुसी सेनाको दक्षिणी मुख्यालय नियन्त्रणमा लिएको छ । एक भिडियोमा येवगेनी आफैं मुख्यालयमा देखिन्छन् । उनले रुसका रक्षामन्त्री र सेना प्रमुखले आफूलाई नेभेटे आफ्ना सैनिकहरु मस्कोतर्फ अघि बढ्ने बताए । उनले भनेका छन्, ‘हामी सेना प्रमुख र शोइगू (रक्षामन्त्री)सँग भेट्न चाहन्छौं । जबसम्म उनी आउँदैनन्, हामी यही रहन्छौं । रोस्तोव शहरलाई घेराबन्दी गर्छौं र फेरि मस्कोतर्फ अघि बढ्छौं ।’ यसैबीच मस्कोको दक्षिणी प्रान्तसँग जोड्ने महत्वपूर्ण राजमार्ग एम ४ बन्द गरिएको छ । लिपेत्स्क प्रान्तका गभर्नरले यसको पुष्टि गरे । साथै उनले प्रान्तका नागरिकहरुलाई शान्त हुन र घरभित्र रहन आग्रह गरेका छन् । येवगेनीले भने आफ्नो बाटोमा जो आउँछ, उसलाई समाप्त पार्ने चेतावनी लिएका छन् । समाचार एजेन्सी रोयटर्सले प्रकाशित गरेको एक तस्वीरमा रास्तोव शहरको सडकमा वागनर समूहका सैनिकहरु देखिन्छन् । यद्यपि उक्त तस्वीर कुन ठाउँको भन्ने खुलाइएको छैन । के हो वागनर समूह ? वगनार समूह निजी सैन्य समूह हो, जसले युक्रेन युद्धमा रुसी सेनालाई साथ दिइरहेको छ । यो समूह पहिलो पटक २०१४ मा सार्वजनिक भएको थियो, जतिबेला युक्रेनमा रुसी समर्थक स्वतत्रता पक्षको समर्थन गरेको थियो । त्यो बेला यो एउटा गोप्य समूह थियो र अफ्रिका तथा मध्यपूर्वमा सक्रिय थिए । त्यो बेला यो समूहमा जम्मा ५ हजार लडाकू रहेको मानिएको थियो । तर अधिकांश रुसको स्पेसल फोर्सका सैनिक थिए । क्रमशः यो समूहमा लडाकूहरुको संख्या बढ्दै गयो । बेलायतको रक्षा मन्त्रालयले जनवरीमा बताएअनुसार वागनर समूहका करिव ५० हजार लडाकू युक्रेनमा रुसका लागि लडिरहेका थिए । उसका लागि २०२२ मा ठूलो संख्यामा भर्ती गरिएको थियो किनकी रुसी सेनामा भर्ती गर्न कठिन भइरहेको थियो । वागनरका प्रमुख येवगेनी प्रिगोजिन वर्षको सुरुवातमा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले युक्रेनमा लडिरहेका वागनर समूहका करिव ८० प्रतिशत लडाकू जेलबाट निकालेर भर्ती गरिएको दाबी गरेको थियो । वागनर समूहका एक पूर्व सैनिकले बताएअनुसार युक्रेनमा युद्ध सुरु हुनुअघि समूहमा आवद्ध हुन ससाना गाउँबाट मानिसहरु आउँथे । किनकी गाउँमा राम्रो तलब भएको जागिर पाइँदैनथ्यो । वागनर समूहमा १५०० डलर मासिक तलब पाइन्थ्यो । यदि कोही युद्धमा गए २००० डलर तलब पाउँथे । यद्यपि रुसले निजी सैनिक सेवामा प्रतिबन्ध लगाएको छ । वागनर समूहले २०२२ मा कम्पनीको रुपमा दर्ता गर्यो र सेन्ट पिटर्सबर्गमा नयाँ अफिस खोल्यो । किन बढ्यो तनाव ? युक्रेन युद्धमा वागनर समूहका लडाकूहरु प्रयोग भए । युक्रेनमा वागनार समूहका हजारौं सैनिक रुसका लागि लडिरहेको अनुमान गरिन्छ । हालै मात्र वागनार समूहका सैनिकहरुले बखमुत शहरमा युक्रेनी सेनासँग लामो लडाईँ लडेका थिए । तर पछिल्लो समय लडाईं को तरिकालाई लिएर वागनर समूह र रुसी सेनाबीच तनाव बढ्दै गएको थियो । शुक्रबार वागनरका प्रमुख येवगेनी प्रिगोजिनले रुसी सेनामाथि आफ्ना सैनिकहरुलाई निशाना बनाएर मिसाइल आक्रमण गरेको आरोप लगाए । रुसको सैन्य नेतृत्वमा हाबी रहेको खराबी रोक्नुपर्ने भन्दै उनले न्यायका लागि लड्ने बताए । टेलिग्राफमा पोष्ट भएको एउटा अडियो सन्देशमा उनले भनेका छन्, ‘जसले हाम्रा लडाकूहरुलाई मारे र युक्रेन युद्धमा दशौं हजार सैनिकलाई मारे, उनीहरुलाई दण्डित गरिनेछ ।’ यो सैन्य कू नभई न्यायको लडाईँ भएको उनले बताए । उनले भनेका छन्, ‘राष्ट्रपति कार्यालय, सरकार, पुलिस र रुसी गार्डले पहिलो जस्तै काम गरिरहने छ । यो सैन्य कू होइन, न्यायको लडाईँ हो । हाम्रो सैनिकहरुलाई कसैले अवरोध गर्ने छैनन् ।’ रुसी अधिकारीहरुले भने यसको खण्डन गरेका छन् र अवैध गतिविधि रोक्न आग्रह गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले भने पलपलको घटनाक्रमको जानकारी राष्ट्रपतिले लिइरहेको बताएका छन् ।
बीबीसीको सहयोगमा
