२४ मंसिर, काठमाडौं । इजरायलको आक्रमणका कारण गाजा क्षेत्रमा अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी मृतक र घाइतेहरुको संख्या बढेको छ । दक्षिण गाजामा जारी भीषण युद्धका बीच खान युनिसको नासिर अस्पतालका डाक्टरहरुले मृतक र घाइतेको संख्या अत्यधिक भएकाले स्थिति नियन्त्रणभन्दा बाहिर गएको बताएका छन् । उनका अनुसार अस्पतालको क्षमताभन्दा धेरै संख्यामा घाइते र मृतकलाई ल्याइएको छ । अस्पतालका निर्देशक नाहेद अबु तायमाले बीबीसीसँग भनेका छन्, सयौंको संख्यामा घाइते र मृतकहरुलाई अस्पताल ल्याइएको छ । खान युनिसमा इजरायलको लगातार बमबारीको बीच अस्पतालको करिडोरमा घाइतेहरुलाई राखेर उपचार गर्न बाध्य भएका छौं ।
हामीसँग औषधि उपकरणहरु पनि थोरै छ ।’ यसैबीच युएन वर्ल्ड प्रोग्रामको उपनिर्देशक कार्ल स्काउले प्यालेस्टिनी क्षेत्रमा १० मध्ये ९ जनाले हरेक दिन खान नपाएको बताएका छन् । त्यहाँका आधा जनसंख्या भोकमरीको चपेटामा छ । जबालिया क्याम्पमा बसेकाहरु कयौं दिनदेखि भोकै प्यासै बस्न बाध्य छन् । इजरायली सेनाका प्रवक्ताले भने गाजा क्षेत्रमा मानवीय सहायता पुर्याउने कोसिस भइरहेको बताएका छन् ।
इजरायली डिफेन्स फोर्सेसका एक प्रवक्ता लेफ्टिनेन्ट कर्णेल रिचर्ड हेचले बीबीसीसँग भनेका छन्, ‘हामी थप सीमा खोल्दै छौं, ताकि धेरै संख्यामा राहत सामग्री बोकेर ट्रकहरु गाजा क्षेत्रमा पुगुन् ।’ उनका अनुसार सीमा पार गर्ने सबै ट्रकहरुलाई जाँच गर्ने काम भइरहेको छ ।
